Explore news and happenings at Bhaktapur

बासु माविमा पोषण र स्वास्थ्यसम्बन्धी एकदिने जनचेतनामूलक सामाग्री प्रदर्शनी

२०७९ भदौ ३० गते, बिहीबार

0
बासु माविको आयोजनामा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत पोषण र स्वास्थ्यसम्बन्धी एकदिने जनचेतनामूलक सामाग्री प्रदर्शनी कार्यक्रम बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेपालमा पहिलोपटक भक्तपुर नपाले वडा वडामा घरदैलो नर्सिङ कार्यक्रम सञ्चालन गरी हालसम्म पनि सफलतापूर्वक निरन्तरता दिइरहेको बताउनुहुँदै घरदैलो नर्सिङ सेवाले भक्तपुरका नागरिकहरुको स्वास्थ्य तथ्यांक थाहा पाउन टेवा पुगेको बताउनुभयो ।
उहाँले भक्तपुरका पाँच वटा विद्यालयहरुमा हाल विद्यालय नर्सबाट स्वास्थ्य सेवा प्रदान गर्ने कार्य भइरहेको अवगत गराउनुहुँदै विद्यालय नर्सको अवधारणा निकै प्रभावकारी रहेको बताउनुभयो ।
नसर्ने रोगको जोखिम समुदायस्तरमा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले कडा रोग लागेका नगरबासी बिरामीहरुलाई रु. १५००० का दरले आर्थिक सहयोग प्रदान गर्नुका साथै वडा नर्समार्फत विभिन्न रोगहरुबारे जनचेतनामूलक कार्यक्रमलाई जोड दिँदै आएको बताउनुभयो ।
विद्यालयका प्रअ अम्बिका न्याइँच्याइँले विद्यालय नर्स राजमती जतिको तर्फबाट बासु नर्सिङ सेवाबारे प्रस्तुतीकरण देखाउनुहँुदै हाल बागमती प्रदेशको ११९ वटै स्थानीय तहमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयनमा रहेको बताउनुभयो । उहाँले विद्यालय नर्सिङ सेवा सञ्चालनबाट विद्यार्थीहरुको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याई विद्यालयमा पत्रु खाना निरुत्साहित गर्ने र स्वास्थ्यबारे परामर्श सेवा प्रदान गर्नु मुख्य उद्देश्यहरु रहेको बताउनुभयो ।
बासु मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द बासुकलाले विद्यार्थीले खाने पत्रु खानाका कारण विद्यार्थीको स्वास्थ्यमा पुग्ने गम्भीर असरतर्फ विद्यार्थीलाई सजग पार्नुपर्ने बताउनुहुँदै पोषण र सरसफाइ राम्रो भए स्वस्थ रहन मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र सहायक प्रअ रविलाल प्रधानले पनि बोल्नुभएको थियो । औपचारिक कार्यक्रमपश्चात नगर प्रमुख प्रजापतिले पोषण र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सामाग्री प्रदर्शनीको अवलोकन गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.