Explore news and happenings at Bhaktapur

सुुकुलढोका भीमसेन सत्तलको ऐतिहासिक पृष्ठभूमि

0
भक्तपुर नगरपालिकाको मध्यभाग स्थित सुकुलढोका साबिक वडा नं ७ र ५ को सीमानामा रहेको भीमसेन सत्तल वा भीम आदर्श निमाविको नामले चिनिने तीनतल्ले भवनमा २०१८ सालदेखि भीमआदर्श स्कूल रहेको सर्वविदितै छ । उक्त एैतिहासिक स्कूलका संस्थापकहरु थिए – स्व. गणेशमान बिजुक्छे, स्व. मदन कृष्णहाडा र स्व. गजेन्द्रबहादुर मूल । विस १९९० को महाभूकम्प पश्चात पूर्णरुपमा पातालैसम्म भत्किएको त्यो सत्तल छाडा चौपाया गाई गोरुको आश्रयस्थलमा परिणत भइसकेको थियो । त्यतिबेला पाटनका गणेशदास मानन्धरको नाममा रहेको भनिएको सो सत्तलको पुननिमार्ण गर्न सुकुलढोका र गोल्मढिका केही व्यक्तिहरु तम्सिए । आफुहरु व्यापार व्यवसाय गर्ने भएकाले गणेशमानका ससुरालीतर्फका चम्पासाहु भनेर चिनिने कक्षपतिहरु त्यसमा पसल कवल निमार्ण गर्ने योजना बनाउन थालेका थिए । तर, आवश्यक पैसा र कानूनी कागजात मिलाउने काम भने फते गर्नु थियो । अन्तमा समाजमा त्यतिबेलाका प्रभावशाली आफ्नो भेनालाई सो सत्तल निमार्ण गर्न राजी तुल्याए । गणेशमान बिजुक्छेले पाटनका गणेशदास मानन्धरसंग स्वीकृति प्राप्त गरी आफ्नै लगानीमा तीन तल्ले सो सत्तलको पुनःनिमार्ण गरे । जमिन तल्लाको नौ कवल पसल मध्य पूर्वपट्टीको ६ कवल पसलहरुमा चम्पासाहुहरुले पसल चलाए भने पश्चिमपट्टीको तीन कवल अमात्यहरुले समझदारीमा चलाए । माथिको दुइतल्लामा भीम आदर्श निमावि स्कूलको स्थापना गरी संचालन गरे । यसरी करिब तीन दशकसम्म अलपत्र रहेको सत्तलले पुर्नजन्म पाए र एउटा सामाजिक कार्यले पूर्णता पाएको थियो ।
तर केहि बर्षपछि चम्पासाहुहरु र अमात्यहरुसंग सत्तल घर पुननिमार्ण गर्ने गणेशमान बिजुक्छे र पसल चलाउनेहरु बीच असमझदारी बढ्दै गयो । ०३९ ÷०४० सालको नापीमा सो सत्तल गणेशमान बिजुक्छेले आफ्नो नाममा दर्ता गराए । विवाद चर्कियो र घटनालाई राजनैतिक रङ्ग दिने प्रयास गरियो । सत्तलको स्वामित्वको बारेमा मुद्दासमेत सुरु भयो । पसल कवल चलाउने पक्षहरु र भिमसेन मन्दिरका पुजारी शुद्धकारहरुले समेत सो सत्तल आ–आफ्नो नाममा हुनुपर्छ भनि मुद्दा चलाउन थाले । केही वर्षको मुद्दामा सर्वोच्चोले उक्त सत्तल गणेशमान बिजुक्छेको हो भनी फैसला गरे । तर, राजनैतिक परिवारसंग सम्बन्धित भएकोले यसले अझ राजनैतिक रुप लियो । सत्तलसंग लेनादेना केही नभएका परिवारका सदस्यहरुलाई समेत मुछिने गरी नियोजित रुपमा बदनाम गराउने कामहरु समेत हँुदै गयो । सत्तलको स्वामित्व कानूनी रुपमा आफ्नो भएपनि गणेशमान बिजुक्छेलाई परिवारबाट नैतिक रुपमा सो सत्तलको स्वामित्व नगरपालिकालाई हस्तान्तर गर्नुपर्ने दवाब पर्दै गयो ।
सत्तलको स्वामित्व नगर पालिकालाई हस्तान्तर गर्ने कुरा अगाडि बढ्दै थियो तर यो निजी गुठी भएकोले तत्काललाई केही अप्ठेरो नपर्ने कुराहरु पनि उठ्यो र यसै बीच गणेशमान बिजुक्छेको विसं २०४३ साल मंसिरमा देहवसान भयो । केही वर्षसम्म छलफलले विश्राम लियो । यता केही वर्षसम्म नगरपालिका जनप्रतिनिधिविहीन हुन पुग्यो र स्वामित्व हस्तान्तरनको मुद्दा पनि ओझेल पर्यो । यहि मौकाको फाइदा उठाई राजनैतिक स्वार्थले लिप्त पाखण्डीहरुले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई हिलोछ्यापी सो सत्तलको मुद्दालाई राजनीतिकरण गर्ने पटक पटक दुष्प्रयास भने गरिनै रहे । २०७४ को स्थानीय तहको निर्वाचनपश्चात जनप्रतिधिहरुले नपा सम्हालिसकेपछि फेरि उक्त सत्तलको स्वामित्व हस्तान्तरको कुरो उठ्यो । यो हस्तान्तरणले मूर्तरुप लिँदैछ । भक्तपुर नगरपालिकाले गर्दै आएको सम्पदा संरक्षणको अभियानमा यो भीमसेन सत्तलको स्वामित्व हस्तान्तरण पनि एउटा कोशे ढुङ्गासाबित हुने विश्वास लिन सकिन्छ ।
(भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको भक्तपुर नपा वडा नं। ५ स्थित भीमसेन सत्तल निजी गुठी)

Leave A Reply

Your email address will not be published.