Explore news and happenings at Bhaktapur

सापारु २०७९ को तयारीस्वरुप लेखक, कवि र कलाकारहरुको भेला

२०७९ साउन १६ गते, सोमबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको प्रसिद्ध गाईजात्रा (सापारु) पर्व को तयारीस्वरुप सोमबार लेखक, कवि र कलाकारहरुको भेला गरेको छ ।
भेलामा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले सांस्कृतिक प्रदर्शनीमार्फत कलाकारहरुले भ्रष्टाचारको विरोध गर्न आफ्नो कलाकारिताको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
जनतालाई राजनैतिक र समसामयिक विषयमा सचेत पार्ने माध्यमको रुपमा ऐतिहासिक कालदेखि सदुपयोग भइरहेको स्मरण गर्दै सम्पूर्ण कवि, कलाकार र लेखकहरुलाई यस वर्षको गाईजात्रा पर्वमा समसामयिक बिसंगतिलगायतका विषयहरुमा नाटक, कविता र कलाकारिता प्रस्तुत गरी जनतालाई सचेत पार्न आग्रह गर्नुभयो ।
गाईजात्रा पर्वलाई जनचेतना फैलाउने अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको काममा रचनात्मक सल्लाह सुझाव दिई अझ उत्कृष्ट बनाउन सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले देशको कला संस्कृति जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुहुँदै गाईजात्रामार्फत यहाँको संस्कृति र सभ्यता झल्किने हुँदा सबैले सभ्य तरिकाले यस पर्वलाई मनाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गाईजात्रामा राम्रो विचारको प्रचार गरी समाजमा व्याप्त विकृति र विसंगतिको उजागर गर्न लेखक कलाकारहरुले आ–आफ्नोतर्फबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भेलामा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले समाजमा नागरिक भावना जागृत गराउनु आवश्यक भएको बताउनुहुँदै लेखक कलाकारहरुले सामाजिक विकृति हटाउन प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित लेखक तथा कलाकारहरु आशकुमार चिकंबन्जार, विष्णुगोपाल कुसी, लक्ष्मीप्रसाद चवाल र विश्वनाथ प्रजापतिले गाईजात्रामा हुने सांस्कृतिक प्रतियोगितालाई परिस्कृष्त बनाउन आ–आफ्नो राय–सुझावहरु राख्नुभएको भयो ।

Leave A Reply

Your email address will not be published.