Explore news and happenings at Bhaktapur

शिक्षक शिक्षिकाहरुलाई दुई दिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती सम्बन्धि तालिम

0
भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक शिक्षिकाहरुलाई दुई दिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती सम्बन्धि तालिम असार १२ गते सम्पन्न भयो ।
तालिममा वडाका विद्यालयहरु वागीश्वरी मावि, सरस्वती विद्यागृह मावि, दत्तात्रय आधारभूत विद्यालय र ब्रम्हचारिणी आधारभूत विद्यालयका २४ जना शिक्षक शिक्षिकाहरु सहभागी रहेको आयोजक समितिले जानकारी दिएको छ ।
तालिमको उद्घाटन गर्नुहुँदै वडाध्यक्ष रविन्द्र ज्याख्वले आधुनिक जीवनशैलीको विकाससंगै फोहरमैला उत्पादन वृद्धि भइरहेको उल्लेख गर्दै फोहरलाई हेला गरेर सडकमा फाल्दैमा समस्या समाधान नहुने बरु उत्पादन श्रोतको रुपमा उपयोग गर्न जान्नुपर्नेमा जोड दिनुभयो ।
घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउने तथा कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गरी करेसा बारी वा कौसी खेतीमा उपयोग गर्न सकिएमा स्वस्थकर तरकारी तथा फलफूल कम मूल्यमा उपभोग गर्न सकिनेबारे सर्वसाधारण सबैमा सचेतना फैलाउने अभियान संचालन भइरहेको अवगत गराउनु भयो ।
उहाँले विद्यालयका शिक्षकहरुमार्फत विद्यालयमा नै फोहरमैला व्यवस्थापन गर्ने तरिका अवलम्बन गर्दा विद्यार्थीहरुले सिक्ने र उनीहरुमार्फत अभिभावक र समाजमा सचेतना फैलाउन सहयोग मिल्ने विश्वास व्यक्त गर्दै तालिमलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखूले फोहरमैला व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाको मात्र नभई सबै नागरिकको साझा दायित्व भएको चर्चा गर्दै सरसफाइको कार्य गर्नु पनि सम्मानजनक पेशा भएको बताउनुभयो । उहाँले सफाइकर्मीका सन्तानहरु डाक्टर, इन्जिनियर, शिक्षक, वकिल बनी सम्मानित जीवन बिताइरहेको प्रष्ट पार्दै सफाइकर्मीहरुप्रति सकारात्मक व्यवहार गर्न सबैमा अनुरोध गर्नुभयो ।
वडासदस्य ज्ञानबहादुर मानन्धरले शिक्षकहरुले विद्यालयमा नै कम्पोष्ट मल बनाई बगैंचा बनाएर आकर्षक वातावरण तयार गरेमा विद्यार्थीहरुले पनि सिक्ने बताउनुभयो ।
प्रशिक्षक सविन ख्याजूले प्रशिक्षार्थीहरुलाई दुई दिनसम्म कम्पोष्ट मल बनाउने विधि, हलुका माटो तयार गर्ने विधि, वेर्ना उमार्ने र सार्ने विधि, शत्रु जीव नष्ट गर्ने घरेलु उपायलगायतमा सैद्धान्तिक र प्रयोगात्मक कक्षा संचालन गर्नुभयो । त्यस्तै अर्का प्रशिक्षक सम्झना खाइजूले गड्यौला मल उत्पादन गर्ने विधिको विषयमा प्रशिक्षण दिनुभयो ।
तालिमको समापन कार्यक्रममा वडाध्यक्ष ज्याख्वले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र एवं प्रशिक्षकलाई धन्यवाद पत्र वितरण गर्नुभयो । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुमध्येबाट सरस्वती विद्यागृह माविका राजन छुस्याबाग, वागीश्वरी माविका रामप्यारी सैंजू, दत्तात्रय आविका निलञ्जना सेवाचार्य र ब्रम्हचारिणी आविका राधिका कोजूले तालिम निकै प्रभावकारी भएको चर्चा गर्दै सबैले आ आफनो घर एवं विद्यालयबाट कौसी खेती विधि प्रयोग गर्ने वाचा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.