भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभाको बैठक आइतबार बसकाे छ ।
बैठकमा नगर प्रमुख प्रजापतिले नगरको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई क्रमशः प्राथमिकतामा राखी बजेट छुट्याएको प्रष्ट पार्नुहुँदै नगरबासीहरुबाट प्राप्त राय सुझावका आधारमा जनमुखी बजेट निर्माणमा नपाले जोड दिएको बताउनुभयो ।
सभाको आजको बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०७९/०८० को बजेटमाथि भएको दफावार छलफलमा ५ जना सभासद्हरुले आफ्नो विचार राख्नुभएको थियो ।
छलफलमा भाग लिँदै सभासद् हेरा ख्याजुले संघ र प्रदेशको बजेट समयमै प्राप्त गर्न पहल गर्नुपर्ने, महेश्वरी खेलमैदानको लागि छुट्याएको बजेट अपुग भएको बताउनुभयो ।
त्यस्तै सभासद् पुरुषोत्तम तमखुले इखालाछी मठ पुनःनिर्माणको लागि छुट्याएको बजेट कम भएको, सभासद् जितेन्द्र मुनंकर्मीले नपाले आर्थिक स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने, सभासद् हरिरत्न गोर्खालीले नपाको बजेट समाजवादउन्मुख भएको बताउनुहुँदै वडास्तरीय योजनामा छुट्याइएको रकम समयअनुसारले वृद्धि गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै सभासद् रामसुन्दर बासीले भौतिक निर्माणमा जोड दिनुपर्ने, नपाले मानसिक रोग विशेषज्ञको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयमा भौतिक सुधार गर्न बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सभाको विशेष समयमा सभासद्हरु रामसुन्दर बासी, गंगालक्ष्मी बमनु, कल्पना शिल्पकार, पुरुषोत्तम तमखू, इन्द्रबहादुर प्याठले देशघाती एमसीसी सम्झौता र एसपीपी सम्झौताबारे जनतालाई सचेत पार्नुपर्ने, सिद्धपोखरी वरिपरि हरियाली प्रवद्र्धन गर्नुपर्ने, घरभाडा कर उठाउनुपर्ने, देको मिवा इतापाके आवास योजना छिटो सम्पन्न गर्नुपर्ने, नगर प्रहरीको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् कृष्णगोपाल चौगुठी, हेरा ख्याजु, श्यामसुन्दर मातां, नारायणप्रसाद त्वानाबासु, कृष्णनारायण दुमरु, सूर्यप्रसाद श्रेष्ठ, मञ्जुमैया लाखा, सिद्धिराम अवाल, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुहुँदै हनुमानघाट सुधारको योजना ल्याउनुपर्ने, भनपा ७ स्थित पाँचाख्योमा हरियाली प्रवद्र्धन गर्नुपर्ने, सडक बत्ती मर्मत सम्भार गर्नुपर्ने, साना र दुई पांग्रे सवारीसाधन पार्किङ व्यवस्था गर्नुपर्ने, नगरकोट सडकको दायाँबायाँ पेटी बनाउनुपर्ने, नगरबासीहरुलाई सरुवा रोगबाट बचाउन खानेपानीको फिल्टरको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नगरसभाको अर्को बैठक २०७९ साल असार १४ गते, मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।