Explore news and happenings at Bhaktapur

१२ कक्षाका विद्यार्थीहरुलाई शैक्षिक परामर्श

२०७९ असार ११ गते, शनिबार

0
नेपाल क्रान्तिकारी विद्यार्थी संघ, मावि भक्तपुर जिल्ला समितिले भक्तपुरका विभिन्न कलेजहरुमा अध्ययनरत कक्षा १२ सकाएर बसेका विद्यार्थीहरुको लागि शनिबार शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले नगरभित्रका विद्यालयहरूमा इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषालगायत संरक्षण गर्न ती विषयहरूमा कक्षा ८, ९ र १० मा अध्यापन सुरु गर्ने योजना रहेको बताउनुहुँदै ती विषय लिएर उच्च शिक्षा हासिल गर्ने नगरबासी विद्यार्थीहरूको लागि छात्रवृत्तिको समत व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्था सञ्चालन गरी विभिन्न जिल्लाका जनताका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आइरहेको अवगत गराउनुहुँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुरबासी जनताको चाहनाअनुसार नगरपालिकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै जाने र आवश्यक भौतिक पूर्वाधारहरुको तयारीमा समेत जोड दिँदै आएको बताउनुभयो ।
विद्यार्थीहरुले आफ्नो विषयमा विशेषज्ञता हासिल गरिसकेपछि कानुनको अध्ययनमा जोड दिनु फलदायी हुने बताउनुहुँदै उहाँले सबै विषयहरुको महत्व समान ढंगको रहेको र पास हुने ढंगले मात्र नभई उत्कृष्ट नतिजा हासिल गर्ने उद्देश्यले अध्ययन गर्नुपर्छ भन्नुभयो ।
विद्यार्थीले आफ्नो रुचिअनुसारको विषय लिएर पढ्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो, भक्तपुर नगरपालिकाले नयाँ नयाँ विषयहरु अध्ययन अध्यापन गराउन र नयाँ कलेजहरु स्थापना गर्न प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सदस्य सृजना सैंजुले पाठ्यपुस्तकभन्दा बाहिरका विषय अध्ययनले विद्यार्थीहरुमा व्यापक दृष्टिकोण रहने बताउनुहुँदै देश र जनताको सेवा गर्ने उद्देश्यले आफ्नो उच्च शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीहरु राजनीतिक रुपमा सचेत हुनुपर्नेमा जोड दिनुहुँदै सांसद सैंजुले विद्यार्थीहरु राजनीतिक रुपमा सक्रिय र संगठित भएर देशको सार्वभौमिकता र स्वाधिनता उँचो राख्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसंघका पूर्व अध्यक्ष नीरज लवजूले विद्यार्थीहरुले आफ्नो जीवनको लक्ष्य पूरा गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुहुँदै देश र समाजको हितको निम्ति काम गर्न विद्यार्थीहरुमा व्यापक दृष्टिकोणको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसंघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई यस किसिमको शैक्षिक परामर्शले सही बाटोमा दोहोर्याउन मद्दत पुर्याउने बताउनुहुँदै राजनीतिक गतिविधिमा पनि सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभयो ।
नेक्राविसंघ मावि जिल्ला समिति भक्तपुरका अध्यक्ष सुजी ह्योंग्वजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राविसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवाल, विद्यार्थीहरु उष्णा मानन्धर, मुस्कान बाग र राज श्रेष्ठले पनि बोल्नुभएको थियो ।
शैक्षिक परामर्श कार्यक्रमको औपचारिक कार्यक्रमपश्चात विभिन्न विषयका परामर्शदाताहरुले विषयगत रुपमा शैक्षिक परामर्श गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.