भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सूर्तिजन्य पदार्थ उत्पादन निषेध र आयातमै रोक लगाउन सके प्राणघातक क्यान्सर रोगको जोखिमबाट बच्न सकिन्छ भन्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा मंगलबार भएको ‘धुम्रपानरहित दिवस २०२२’ कार्यक्रममा बोल्नुहुँदै उहाँले धुम्रपान स्वास्थ्यको लागि हानिकारक तत्व भएकोले यसबाट टाढै रहनुपर्ने र जनतालाई पनि सचेत बनाउँदै लानुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले प्रकाशन गर्ने पाठ्यपुस्तकमा धुम्रपानलगायतका सुर्तीजन्य पदार्थहरुको असरबारे जानकारीमूलक लेख समावेश गर्ने बताउनुहुँदै उहाँले भक्तपुर क्यानसर अस्पताल जनताको साझा अस्पताल भएको हुँदा गरिब जनताको सेवा गर्ने लक्ष्यका साथ सबैले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा धुम्रपान सेवनबाट वर्षेनी करिब ३५ हजारभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको तथ्यांक रहेको हुँदा व्यक्ति आफै सचेत नभएसम्म यसको जोखिम रहिरहने बताउनुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले धुम्रपानविरुद्धको अभियान सञ्चालन गरी जनतालाई सचेत पार्नु बताउनुहुँदै धुम्रपान सेवनबाट धेरै बिरामीहरुले अकालमा ज्यान गुमाइरहेको छ भननुभयो ।
कार्यक्रममा अस्पतालका रजिष्टार डा. श्वेता बरालले धुम्रपानको तथ्य र असरबारे प्रस्तुतीकरण दिनुभएको थियो भने प्रशासन प्रमुख राजाराम तजले पनि आफ्नो धारणा राख्नुभयो ।