भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा काठमाडौं क्यान्सर केयर सेन्टरको आयोजनामा भक्तपुरको टौमढीमा मंगलबार विश्व सूर्तीजन्य पदार्थरहित दिवस कार्यक्रम सम्पनन भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नसर्ने रोगको प्रमुख कारकका रुपमा रहेको सुर्तीजन्य पदार्थ नियन्त्रणमा काम गर्न आफूहरु प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

क्यान्सर आफैमा प्राणघातक खतरनाक रोग भएको बताउनुहुँदै उहाँले सुर्तीजन्य पदार्थको सेवन मानसिक स्वास्थ्यसँग पनि जोडिएको हुँदा यस्ता कुलतबाट टाढा रहनुपर्ने बताउनुहुँदै विशेषगरी नयाँ पुस्तालाई यस्तो सेवन गर्न रोक्नका लागि बढी जोड दिनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले सूर्तीजन्य पदार्थ बेचबिखनमा पनि रोक लगाउनुपर्नेमा जोड दिनुहुँदै धुम्रपानको सेवन नगर्ने हो भने धेरैले अकालमा ज्यान गुमाउनुपर्ने स्थिति नआउने बताउनुभयो ।
कार्यक्रममा क्यान्सर केयर सेन्टरका निर्देशक सुमित सापकोटा, पत्रकार प्रकाश सुवेदीलगायतले चुरोट सेवनको लत युवामा बढेकोले कडाइकासाथ नियन्त्रण गर्नुपर्ने र सुर्तीजन्य पदार्थको सेवन छुटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।