भक्तपुर घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने पहिलो नगरपालिका : प्रमुख प्रजापति
२०७९ जेठ १३ गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका घरदैलो नर्सिङ सेवा सञ्चालन गरी जनताको सेवा गर्ने पहिलो नगरपालिका रहेको बताउनुभयो ।
वीर अस्पताल नर्सिङ क्याम्पसका बी.एम.एस. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजना भएको मातृत्व र प्रजनन् स्वास्थ्य विषयमा भएको घरदैलो नर्सिङ कार्यक्रमअन्तर्गतको प्रस्तुतीकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले भक्तपुर नपाले अहिले घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउनुहुँदै उहाँले नपाले वडा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले सरसफाईलाई व्यवस्थित गर्न कुहिने र नकुहिने फोहर अलग अलग संकलन गरी व्यवस्थापन गर्दै आएको बताउनुहुँदै भक्तपुरका हरेक काममा जनताको अपनत्व र साथ भएकै कारण भक्तपुर आज देशकै नमुना र उदाहरणीय नगरको रुपमा रहन सफल भएको बताउनुभयो ।

कार्यक्रममा वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख वन्दना थापाले वीर अस्पतालले ख्वप अस्पतालसँग समन्वय गरी काम गर्न पाएकोमा निकै खुशी भएको बताउनुहुँदै आगामी दिनहरुमा पनि भक्तपुर नपाको काम पारदर्शी र जनमुखी हुने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा वीर अस्पताल नर्सिङ क्याम्पसका शिक्षिका पूर्णदेवी महर्जन, विद्यार्थीहरु पूजा अैडी, करुणा थापामगरलगायतले कार्यक्रमको मुख्य उद्देश्यबारे प्रष्ट पार्दै आगामी दिनमा यस्तो साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा वीर अस्पताल नर्सिङ क्याम्पसका विद्यार्थीहरुले मातृत्व र प्रजनन् स्वास्थ्यबारे बृहत प्रदर्शनी समेत गरेको थियो ।