Explore news and happenings at Bhaktapur

वर्तमान सहकारी अभियान विषयक गोष्ठी

२०७८ पुस १५ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीको आयोजनामा भएको वर्तमान सहकारी अभियान विषयक गोष्ठी बिहीबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको स्वीकृतिविना सञ्चालित प्रदेशस्तरीय बहुउद्देश्यीय सहकारी संस्थाहरुको अनुगमनलाई जोड दिँदै आइरहेको बताउनुहुँदै अनियमित ढंगले सञ्चालित यस्ता संस्थाहरुलाई कानुनको दायरामा ल्याइने बताउनुभयो । कार्यक्रममा उहाँले भक्तपुरमा नमुना सहकारी सञ्चालन गर्न सहकारीकर्मीहरुलाई प्रेरित गर्नुभयो ।

भक्तपुर नगरपालिकाले समाज र जनताको सेवा हुने योजनाहरु सञ्चालनमा जोड दिँदै ख्वप अस्पताल, चिस्यान केन्द्र, आदर निकेतन, कर्भड हललगायत निर्माणलाई व्यापकता दिँदै आएको बताउनुहुँदै सहकारी संस्थाहरुल पनि नाफालाई भन्दा पनि सदस्यहरुको आर्थिक र सांस्कृतिक विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सहकारी ऐन तथा कानुनहरु व्यापक जनताको हितमा भए कार्यान्वयन पक्ष पनि बलियो हुने बताउनुहुँदै प्रमुख प्रजापतिले सहकारीहरुले सदस्यहरुको सिर्जनशीलतालाई ध्यानमा राखी सीपमूलक तालिमहरु सञ्चालन गरी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले एमसीसी सम्झौताको नाममा देशको सार्वभौमिकता बेच्नु गलत भएको बताउनुहुँदै सरकारले प्रतिपक्षहरुसँग समन्वय गरी एमसीसी संसदबाट पारित गर्ने खतरा भएको हुँदा देशभक्त जनताहरु एमसीसीको विरुद्ध संगठित हुनुपर्ने खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सुशासनमा चलेका सहकारी संस्थाहरुमा तरलताको समस्या कम मात्र हुने बताउनुहुँदै गैरकानुनी ढंगबाट सञ्चालित बहुउद्देश्यीय सहकारीहरु सञ्चालनमा रोक लगाउनुपर्ने र एक सदस्य एक सहकारी नीति सहकारीको हितविपरीत भएको बताउनुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले गोष्ठीको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै भक्तपुरका सहकारी संस्थाहरुको तरलता व्यवस्थापन गर्न सबै एकजुट हुनुपर्ने र सहकारी अभियानले देशको यथोचित विकासमा टेवा पुर्याएको बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु र व्यवस्थापक बालकृष्ण ध्वजुले संघको गतिविधि र तरलता व्यवस्थापनबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.