Explore news and happenings at Bhaktapur

थालोछेँ बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं साधारणसभा सम्पन्न

भक्तपुर । २०७८ मंसिर ११, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० थालाछेँस्थित थालाछेँ बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।

सभाको उद्घाटन गर्नुहुँदै उहाँले ऐतिहासिक र सांस्कृतिक नगरी भक्तपुरको मौलिक पहिचान जोगाउन सके हाम्रो पहिचान जोगिने बताउनुभयो ।

उहाँले नयाँ पुस्ताको लागि यी सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु जरुरी रहेको बताउनुहुँदै भक्तपुर नपाले सम्पदा बस्ती संरक्षण गर्ने उद्देश्यले विभिन्न गतिविधि गर्दै आइरहेको बताउनुभयो ।

शैक्षिक विकासमा स्थानीय तहमा भक्तपुरलाई नमूनाको रुपमा धेरैले लिन थालेको भन्दै उहाँले लामो समयदेखि भक्तपुर नगरपालिकाले जनताका छोराछोरीलाई सस्तो र सहज रुपमा गुणस्तरीय नर्सिङ शिक्षा प्रदान गर्दै आएकोमा शिक्षामन्त्रीले त्यसमा पूर्ण विराम लगाउने निर्णय आपत्तिजनक भएको बताउनुभयो ।

नेपाल कृषि प्रधान देश भएर पनि वर्षेनी अरबौंको कृषिजन्य वस्तु विदेशी मुलुकबाट आयात गरिरहेको बताउनुहुँदै सरकारले रासायनिक मल कारखाना खोल्न प्रयत्न नगर्दा अरबौंको रसायनिक मल विदेशबाट आयात गर्नुपरेको यथार्थ बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडाका विकास निर्माणका गतिविधिबारे जानकारी दिनुहुँदै वडाको आवश्यकताअनुसार विकास निर्माणका गतिविधिहरु अगाडि बढाउँदै आएको बताउनुभयो ।

भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको चर्चा गर्नुहुँदै युवाहरुलाई रोजगारी सिर्जनाको लागि सीपमूलक तालिम, गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि शैक्षिक ऋणको पनि व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष रामकृष्ण साँगाछेँले आर्थिक समृद्धिका लागि थालाछेँ सहकारी भन्ने संस्थाको मूल नाराका साथ अगाडि बढिरहेको यस संस्थाले समाजमा एकआपसमा आपसी सहकार्यको भावना जागृत गर्न एवम् आफूमा भएका विभिन्न सीप र ज्ञानलाई एकआपसमा सातासात गर्न प्रेरित गर्नको लागि प्रयत्नरत रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी लि.का कोषाध्यक्ष कान्छाभक्त कोजु र सिद्धिगणेश साकोसका कोषाध्यक्ष इश्वरमान दुमरुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राख्नुभयो ।

सोही क्रममा थालाछेँ साकोसका सचिव विश्वराम दुमरुले आ.व. २०७७।७८ को प्रगति प्रतिवेदन तथा आ.व. २०७८।७९ को भावी योजना तथा कार्यक्रम, कोषाध्यक्ष कृष्णभक्त गैंडाले आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट, लेखा सुपरीवेक्षण समितिका संयोजक राधिका जतीले आ.व. २०७७।७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष वदनकेशरी प्रजापति र सञ्चालक जीवन वातांकछीले पनि बोल्नुभएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि तथा अतिथिहरुले ज्येष्ठ नागरिक, एसईई उत्तीर्ण विद्यार्थी, असल बचतकर्ता तथा ऋणीहरुलाई सम्मान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.