Explore news and happenings at Bhaktapur

१०४ औं महान् अक्टोबर समाजवादी क्रान्तिको अवसरमा प्रवचन

भक्तपुर । कार्तिक २७ गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टी भनपा ५ खलाँको आयोजनामा १०४ औं महान् अक्टोबर समाजवादी क्रान्तिको अवसरमा अन्तरक्रिया तथा प्रवचन कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले अक्टोबर समाजवादी क्रान्तिको महत्वबारे जनतालाई सचेत र जानकार बनाउन देशव्यापी रुपमै नेमकिपाले यस विषयमा प्रवचन तथा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनुभयो ।

जनतालाई राजनैतिक रुपले सचेत र संगठित बनाउन प्रकाशित पार्टी प्रकाशनहरुको नियमित अध्ययन तथा अन्तरक्रियामा जोड दिनुपर्ने बताउनुहुँदै समाजवादी देशहरुमा कम्युनिष्ट पार्टीको सदस्यता पाउनु आफैमा गर्वको विषय हुने बताउनुभयो ।

नेपालका नक्कली कम्युनिष्टले राजनीतिक व्यवस्थामाथि नै विकृति र विसंगतिहरु उत्पन्न गरिरहेको तर्फ पार्टी कार्यकर्ताहरु सजग हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले लेनिनवादी नीतिअनुसार नेमकिपाले प्रतिक्रियावादी संघ संस्थाहरुमा गई क्रान्तिको तयारीका लागि निर्वाचनको उपयोग गरिरहेको बताउनुभयो ।

अनुशासित, विचारमा प्रतिबद्ध, शत्रुको अगाडि नझुक्ने र प्रगतिशील विचारधारा बोक्ने कम्युनिष्ट कार्यकर्ताहरुको विशेषता रहेको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले समाजवादी व्यवस्था जनताको लागि स्वर्ग भएको बताउनुभयो ।

कार्यक्रममा भनपा साविक वडा नं. ११ का केन्द्रीय सदस्य सत्यनारायण दिदियाले पार्टीको निर्देशनमा राजनीतिक कार्यकर्ताहरु जुनसुकै समयमा खटिन तयार हुनुपर्ने भन्दै नेमकिपाको मुख्य उद्देश्य जनताको निःस्वार्थ सेवा गर्ने रहेको बताउनुभयो ।

नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले महान् अक्टोबर क्रान्तिको सफलताले विश्वका कयौं देशहरुमा पनि क्रान्ति अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कम्युनिष्टहरुले पुँजीवादी सरकारमा गएर जनताको हितमा काम गर्न नसक्ने बताउनुहुँदै उहाँले सक्रिय र जुझारु क्रान्तिकारी कार्यकर्ताहरुको योगदानकै कारण अक्टोबर क्रान्ति सफल भएको चर्चा गर्नुभयो ।

नेमकिपा ५ वडा खलाँका अध्यक्ष बलराम सिबन्जारले लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिले व्यापक कामदार जनताको हित भएको बताउनुहुँदै सही नेतृत्वले समाजमा आमूल परिवर्तन सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा नेमकिपा ५ खलाँका सचिव केपी छुस्याकीले अक्टोबर क्रान्तिको महत्वबारे प्रस्तुतीकरण दिनुभएको थियो भने सदस्य सर्जु फसिकवाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.