Explore news and happenings at Bhaktapur

चण्डेश्वरी अजिमा साकोसको १४ औं साधारणसभा सम्पन्न

भक्तपुर । कार्तिक २७ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपातिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ५ चासुखेलस्थित चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले बागमती भक्तपुर नगरपालिकाको स्वीकृति विना प्रदेश सरकारको स्वीकृतिमा सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थालाई नगरभित्र सञ्चालन गर्न नदिने नीति लिएको बताउनुभयो ।

उहाँले अधिकांश सहकारी संस्थाहरुले बचत संकलन गरी अनुत्पादन क्षेत्रमा लगानी गरिरहेको पाइएको बताउनुहुँदै सहकारी ऐनअनुसार सहकारी सञ्चालित छ वा छैन भनी नगरपालिकाले नियमन र अनुगमन गरिरहेको बताउनुभयो ।

संरा अमेरिकाले दिने ५५ अर्ब अनुदानसँगै अमेरिकी सैनिक नेपाल पस्ने खतरा बढेको बताउनुहुँदै उहाँले सहकारीकर्मीहरुले राष्ट्रघाती एमसीसीको विरोध गर्नुको औचित्यमाथि प्रष्ट पार्नुभयो ।

सहकारी संस्थाहरुले सामाजिक गतिविधिहरुमा पनि आफ्नो क्रियाशीलता बढाउनुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नपाले एनजीओ आइएनजीओलगायतका विदेशी संस्थाको सहयोगविना विकास निर्माणका गतिविधि अगाडि बढाइरहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले सहकारी संस्था देश विकासको चौथो आधारस्तम्भ भएको बताउनुहुँदै ती संस्थाहरुले सामाजिक, शैक्षिक, सांस्कृतिक परिवर्तनमा आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य काजीबहादुर पन्चले अधिकांश सहकारी संस्थाका उपसमितिहरुबाट हुने गरेका गतिविधिमा कमी आएको औंल्याउनुहुँदै सहकारी सदस्यहरुलाई स्थानीय तहको स्वीकृति विना सञ्चालित सहकारी संस्थाहरुमा आबद्ध नहुन सचेत पार्नुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष चिनियालाल माकले संस्थाका गतिविधिबारे प्रष्ट पार्नुहुँदै कोभिड महामारीबीच पनि संस्थाले जनतालाई सचेत पार्न विभिन्न अभियानहरु सञ्चालन गरेको बताउनुभयो ।

संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद त्वानाबासु र उपाध्यक्ष पूर्णगोपाल राजचलले पनि बोल्नुभएको उक्त कार्यक्रममा लेखा समितिका संयोजक लक्ष्मीनारायण त्वानाबासुले आ.व. २०७७।७८ को प्रगति विवरण, कोषाध्यक्ष सरिता त्वानाबासुले आ.व. २०७७।७८ को आय व्यय विवरण तथा आ.व. २०७८।७९ को वार्षिक अनुमानित बजेट र सचिव नारायणकृष्ण माकले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.