Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा ‘उपमेयर कप’ मा सहभागी खेलाडीहरुलाई ट्रयाक सुट र जर्सी वितरण

२०७८ कार्तिक ३ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७८ कार्तिक ४ गतेबाट काठमाडौंमा सुरु हुन गइरहेको ‘उपमेयर कप’ महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट सहभागी खेलाडी तथा प्रशिक्षकहरुलाई भक्तपुर नपाको लोगो अंकित जर्सी र ट्रयाक सुट वितरण गर्नुभएको छ ।

बुधबार खेलाडीहरुसँगको परिचयात्मक तथा मार्गनिर्देशनात्मक कार्यक्रममा प्रमुख प्रजापतिले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताउनुहुँदै भक्तपुर नपाले नियमित खेलकुद प्रशिक्षणलाई निरन्तता दिंदै थप खेलहरूको प्रशिक्षण दिँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकालाई शिक्षा र स्वास्थ्यसँगसँगै खेलकुदको माध्यमबाट पनि नमुना नगरपालिकाको रुपमा विकसित गर्न खेलकुद समिति सक्रियतापूर्वक लागिरहेको बताउनुहुँदै उहाँले विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यतासँगसँगै खेल क्षेत्रमा आबद्ध भई शारीरिक, सामाजिक र मानसिक विकासमा विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले खेलाडीहरुको मनोबल र प्रोत्साहन बढाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई सम्मान कार्यक्रम गर्दै आएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले खेलाडीहरुले आफ्नो समाज र देशको प्रतिष्ठाको निम्ति अनुशासित ढंगले खेल खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलमा हार–जीत स्वाभाविक भएको बताउनुहुँदै खेलकुद संयमतापूर्वक र साहसिक ढंगले खेलिनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको शारीरिक र मानसिक स्वास्थ्यको निम्ति खेलकुदको अहम् भूमिका रहेको बताउनुहुँदै वडा वडामा रहेका खेलकुद समितिहरूलाई सकृय बनाइँदै लगेको बताउनुभयो ।

अखिल नेपाल फुटबल संघको आयोजनामा भोलिबाट सुरु हुने खेलमा भक्तपुर नगरपालिकाकाबाट २० जना महिला खेलाडीहरु प्रतियोगितामा सहभागी हुने भक्तपुर नगरपालिका खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले बताउनुभयो ।

 

 

 

Leave A Reply

Your email address will not be published.