Explore news and happenings at Bhaktapur

दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ

२०७८ असोज २५ गते, सोमबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा विजया दशमी २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै उहाँले सरसफाइकर्मीहरू चाडबाडको समयमा नगरको सरसफाईमा विशेष ध्यान दिएर लाग्नुपर्ने बताउनुहुँदै जुनसुकै समयमा जनताको सेवाको लागि जनप्रतिनिधि र कर्मचारीहरू तत्पर रहनुपर्ने बताउनुभयो ।

नजिकिँदै गरेको दशैं र तिहारमा कोभिड संक्रमणको खतरा बढ्ने हुँदा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कर्मचारीतन्त्र स्थायी सरकारको रुपमा प्रतिकात्मक मात्र भएकोले उनीहरुलाई कुनै पनि अनियमितता गर्न छुट नहुने विचार व्यक्त गर्नुहुँदै कर्मचारीहरुले व्यक्तिगत विषयमा भन्दा सामाजिक विषयलाई महत्व दिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
विकास निर्माण र नक्सापास कार्यमा अनियमितता रोक्न प्राविधिकहरुको विशेष भूमिका हुने भएकोले यसप्रति प्राविधिकहरुलाई सचेत पार्दै कर्मचारीहरु शिष्ट, नम्र, विनयशील र नैतिकवान हुनुपर्ने उहाँले बताउनुभयो ।

नयाँ पुस्तालाई पठनीय अध्ययन सामाग्री जुटाउनतिर बुद्धिजीवी वर्ग अग्रसर हुनुपर्ने बताउनुहुँदै उहाँले देशकै नमुना नगरपालिकाको रुपमा ख्याति कमाएको भक्तपुर नगरपालिकाले आगामी दिनहरूमा त्यसको गरिमा कायम गर्नेतिर विशेष जोड दिनुपर्ने बताउनुभयो ।
संख्यात्मक हिसाबले ठूलो पार्टी हुँदैमा उनीहरूको विचार र सिद्धान्तसँग सहमत हुन नसकिने विचार राख्नुहुँदै अध्यक्ष बिजुक्छेँले शासक दलको पूर्वाग्राही व्यवहारका कारण आजका दिनसम्म ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति नपाएको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरी नगरलाई थप सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउनुहुँदै उहाँले आवास क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेधमा रोक लगाउनुपर्ने र जनतालाई नक्साबमोजिम घर निर्माण गर्ने विषयमा उत्साहित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरू सामान्य नागरिकभन्दा जिम्मेवार हुने हुँदा चाडपर्वको समयमा सिर्जनशील र रचनात्मक गतिविधिमा आबद्ध हुन आह्वान गर्नुभयो । उहाँले संस्कृतिसँगै भित्रिने विकृति र बिसंगतिबारे जनतालाई सचेत पार्न सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

छिमेकी देश भारतले नेपाललाई आर्थिक रुपले माथि उठ्न नदिन अनेक षड्यन्त्रका गतिविधिहरूलाई बढावा दिइरहेको बताउनुहुँदै उहाँले परमादेशबाट बनेको सरकारले देश र जनताको हितमा जनअपेक्षाअनुसार काम गर्ने कुरामा विश्वास गर्न विश्वास गर्न नसकिने बताउनुभयो । उहाँले भक्तपुर नपाका जनप्रतिनिधिहरूले जनताको निःस्वार्थ सेवा गरिरहेको बताउनुहुँदै शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षण कार्यमा अनुकरणीय काम भइरहेको प्रष्ट पार्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले न्यायिक समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रकाश पार्दैै महिला हिंसा, जग्गा विवाद, पारिवारिक झैझगडा जस्ता न्यायिक समितिमा दर्ता भएका मुद्दाहरूको न्यायोचित ढंगले सम्बोधन गर्दै आएको बताउनुभयो ।

कला, संस्कृति र भाषा विनाको पहिचान अधुरो हुने बताउनुहुँदै उपप्रमुख जोशीले स्थानीय पाठ्यक्रम लागू गरी भक्तपुरका विद्यार्थीहरूलाई सभ्य र सुसंस्कृत बनाउने प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले दशैं बिदामा नगरपालिकाले दैनिक र नियमित गर्नुपर्ने सरसफाइ, पर्यटन, अनियमित निर्माण नियन्त्रणलगायतका विभिन्न क्षेत्रको कामहरु सम्बन्धित कर्मचारीहरुले जिम्मेवारीपूर्वक गर्नुहुन निर्देशन दिनुहुँदै कर्मचारीहरुको निःस्वार्थ कर्तव्यपालनले नगरपालिकाको छवि उजिलिने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.