Explore news and happenings at Bhaktapur

शुभकामना आदान प्रदान तथा मार्ग निर्देशन कार्यक्रम सम्पन्न

२०७८ असोज २४ गते, आइतबार

0

नेपाल मजदुर किसान पार्टीका सचिव मा. प्रेम सुवालको प्रमुख आतिथ्यतामा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने विषयमा प्रबचन कार्यक्रम आइतबार सम्पन्न भयो ।

कार्यक्रममा सांसद सुवालले नगरपालिकाका कर्मचारीहरुले जिम्मेवारी बहन गरी नगरबासीहरुको हितमा काम गरे मात्र संस्थाको विकास र उन्नति हुने बताउनुहुँदै देशको हितमा नबोल्ने तत्वहरु विदेशी दलाल हुने बताउनुभयाे ।

भारत र चीनलाई युद्धमा धकेल्ने उद्देश्यका साथ एमसीसी नेपालमा लागू गर्न अमेरिका तल्लीन रहेको बताउनुहुँदै जनप्रतिनिधिको कार्यालय समय नभएजस्तै मुख्य मुख्य कर्मचारीहरुको कार्यालय समय नहुने र कुनै पनि समयमा सेवाको लागि तत्पर रहनुपर्ने तथा समयमा आधारित पारिश्रमिक र वृत्तिविकास भन्दा योगदानमा वा काममा आधारित पारिश्रमिक वा वृत्तिविकास व्यवस्था गर्नुपर्ने विचार राख्नुभयो ।

अमेरिका, बेलायत र अष्ट्रेलियाको गठबन्धन तथा अमेरिका, बेलायत, जापान र अष्ट्रेलियाको सैनिक गठबन्धन तयार गरी हिन्द प्रशान्त क्षेत्रबाट चीनलाई घेर्ने रणनीतिका साथ अमेरिका अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

नेपाल–भारतबीचका असमान सन्धीहरुका विषयमा नेपालको पक्षमा विचार नराख्ने राजनीतिक पार्टी तथा कार्यकर्ताहरु भारत परस्त हुन् भन्दै उहाँले नेपालका शासक दलहरु भारतीय एकाधिकार पुँजीका पिछलग्गु भएको बताउनुभयो ।

सांस्कृतिक गतिविधि र दैनिक जीवनयापनलाई विज्ञानसम्मत ढंगले अगाडि बढाउनुपर्ने बताउनुहुँदै सांसद सुवालले भगवानको कारणले नभई शासकहरुको गतिविधिको कारण नागरिकहरुको जीवन दिशानिर्देश हुने र जिम्मेवारी पन्छाउने माध्यमको रुपमा भगवानलाई दुरुपयोग गर्न नहुने बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरुले दशैंको समयमा पठन संस्कृतिको विकास गरी अविस्मरणीय तरिकाले चाडपर्व मनाउनुपर्ने बताउनुभयो ।

समाजवाद गरिब जनताको निम्ति स्वर्ग भएको उल्लेख गर्दै उहाँले एमसीसी भनेको आर्थिक सहयोगको नाममा देशलाई उपनिवेश बनाउने रणनीति भएकोे बताउनुभयो ।

उहाँले एमसीसी सम्झौता राष्ट्रपति र जनताको हित विपरीत भएको हुँदा यसको विरोधमा सचेत जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले राजनीति इतिहास, भूगोल तथा संस्कृतिहरुको विषयमा विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नुपर्ने बताउनुहुँदै भक्तपुर नपाले प्रकाशन गरी लागू गरेको स्थानीय पाठ्यक्रममा भक्तपुरको इतिहास, भाषा, संस्कृति आदि विषय समावेश भएको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सम्पूर्ण कर्मचारीहरुलाई विजया दशमी २०७८ को सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरु देश र जनताको विषयमा चिन्तनशील हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सदस्यद्वय रामकृष्ण प्रजापति र विकास प्रजापतिले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध सचेत हुनु कर्मचारीहरुको दायित्व भएको र नपाका कर्मचारीहरुले देशको परिस्थितिबारे जानकारी राख्नुपर्नेलगायतका धारणा राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.