Explore news and happenings at Bhaktapur

पुँजीवादी संविधानले जनताको हित गर्दैन ः प्रमुख प्रजापति

२०७८ असोज ५ गते, मंगलबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी संविधानले जनताको हित नगर्ने बताउनुभयो ।

पार्टी कार्यकर्ता प्रशिक्षण गर्न कैलाली पुग्नुभएका प्रजापतिसँग मालिका एफ.एम.का रमेश बजगाइँले संविधान दिवसको अवसरमा लिनुभएको अन्तरवार्ताको क्रममा उहाँले उक्त कुरा सुनाउनुभएको हो ।

नेपालको संविधान समाज विकास क्रमको एउटा पाइला मात्र हो । यो संविधानमा नेपाल मजदुर किसान पार्टीले थुप्रै संशोधन हालेको थियो । यद्यपि जनआन्दोलनको उपलब्धी स्वरुप प्राप्त उपलब्धीलाई संस्थागत गर्दै जनताको हितमा थप उपलब्धी प्राप्त गर्न निरन्तर संघर्षको नीति नेमकिपाले लिएको छ — उहाँले भन्नुभयो ।

उहाँले संघीयताका पक्षपाती शासक दलहरु ‘नक्कली नागका शौखिन’ का आरोप लगाउँदै भन्नुभयो — ‘संघीयताको नाउँमा शासक दलहरु स्थानीय तहको अधिकार केन्द्र र प्रदेशमा केन्द्रित गर्न खोज्दैछन् । कर्मचारी भर्ना, बढुवा गर्न स्थानीय तहको अधिकार खोसिएको छ । योजना छनोट प्रदेश र केन्द्रले गर्न थालिएको छ । प्रदेश गृहमन्त्रीभन्दा प्रमुख जिल्ला अधिकारी शक्तिशाली बनाइएको छ । स्थानीय तहको अधिकार खोसिँदै जाने यो कस्तो संघीयता हो ?’

भक्तपुर नगरपालिका अन्य पालिका भन्दा के कति कारणले फरक छ भन्ने एक प्रश्नको जवाफमा उहाँले शिक्षामा शिशुस्याहारदेखि कलेजसम्म सञ्चालन, गरिब विद्यार्थीलाई शैक्षिक ऋण प्रदान, भूगोल, इतिहास, राजनीतिशास्त्र पढ्नेलाई पूर्ण छात्रवृत्तिको व्यवस्था नगरपालिकाले गर्दै आएको छ भने स्वास्थ्य क्षेत्रमा घर घरमा नर्सिङ सेवा, ख्वप अस्पताल सञ्चालन, निःशुल्क कोभिड उपचार सेवा, नगरबासीहरुलाई निःशुल्क अक्सिजन वितरणलगायन विकास निर्माणका नाममा स्थानीय जनता परिचालन गरी सम्पदा संरक्षण र सरसफाईलगायतका कार्यमा मौलिक शैलीम काम गर्दै आएको बताउनुभयो ।

विचार सानो ठूलो हुने गर्दैन, नेपाल मजदुर किसान पार्टी निर्वाचनलाई विचारको लडाइँको रुपमा लिन्छ । पुँजीवादी व्यवस्थाविरुद्ध नेमकिपा निरन्तर संघर्षरत रहनेछ । नेमकिपा राजनीतिलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने रुपमा लिन्छ । तर अहिले शासक दलका नेताहरु राजनीतिलाई छिटै पैसा कमाउने माध्यम बनाइरहेका छन्, व्यापारको रुपमा लिइरहेको छ —प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो ।

उहाँले देशघाती एमसीसी विरुद्ध नेमकिपा जिल्ला जिल्लामा संघर्ष गरिरहेको बताउनुहुँदै संसदले अनुमोदन गरेका देश उपनिवेश हुनेछ भन्नुभयो ।

नेपालमा राजनैतिक अस्थिरता आउनुमा भारतको हात रहेको आरोप लगाउनुहुँदै उहाँले भन्नुभयो —‘नेपालको राजनैतिक दलका नेताहरु भारतीय विस्तारवादको गोटी चालमा फसेका छन् । सचेत नेपाली जनताले भारतीय विस्तारवादको सशक्त विरोध गर्नु आवश्यक छ ।’

Leave A Reply

Your email address will not be published.