Explore news and happenings at Bhaktapur

सफुकुथी महिनौँ जलिरह्यो

रजनी जोशी, उपप्रमुख

0

नेपालमा प्राचीनकालदेखि नै ज्योतिष, तन्त्र, धर्मग्रन्थ, धार्मिक विधिविधान आदि कुराहरू शिलालेख, ताम्रपत्र, भोजपत्र आदिमा लेखिन्थ्यो । यी सबै सामग्रीहरू मठ, मन्दिर, बहा—बही आदि ठाउँहरूमा सुरक्षितसाथ राख्ने गरिन्थ्यो । अतः प्राचीनकालमा यी मठ, मन्दिर, बहा—बही नै त्यस समयका पुस्तकालय मान्न सकिन्छ । मध्यकालीन समयमा नै काठमाडौँ उपत्यकाको राजधानी भक्तपुरमा पुस्तकालय रहेको इतिहासमा पढ्न पाउँछौँ । मल्लकालीन राजाहरू पुस्तक लेखन, सङ्कलन र अध्ययनमा निकै रुचि राख्दथे । त्यतिबेलाको पुस्तकालय ‘सफूकुथी’ को नाउँले चिनिन्थ्यो । सफू भनेको पुस्तक र कुथी भनेको कोठा वा ठाउँ हो । त्यस समयमा सफूकुथीमा १४००० थानभन्दा बढी पुस्तकहरू रहेको इतिहासमा लेखिएको छ । यही कारण इतिहासकार कर्क पेट्रिकले त्यस समयको भक्तपुरलाई (आफ्नो पुस्तकमा) नेपालको वाराणसी भनेर चित्रण गरेका थिए ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि भक्तपुरलगायत अन्य ठाउँहरूबाट ग्रन्थहरू आफै साथ हनुमानढोकामा लगेका इतिहासमा उल्लेख छ । युद्धको समयमा यसै सफूकुथीका पुस्तकहरू नष्ट गर्न महिना दिन आगो लगाइएको इतिहासमा पढ्न सकिन्छ ।

पछि वि.सं. १८६९ भदौ १५ गते पुस्तकालयसम्बन्धी कानुनी मान्यतासहितको पुस्तलकालय स्थापना गरिएको थियो र यो नै नेपालको पहिलो पुस्तकालयको रूपमा स्थापित भयो । यसै दिनको स्मरणमा २०६५ साल (सन् २००८) देखि राष्ट्रिय पुस्तकालय दिवसको रूपमा मनाउन थालिएको हो ।

पुस्तकालयको महत्व परापूर्व कालदेखि आजको दिनसम्म अझ बढ्दै आइरहेको हामी पाउँछौँ । २१ औँ शताब्दीमा पुस्तकालयको क्षेत्र अझ व्यापक हुँदै गएको पाइन्छ । हाल आएर भर्चुअल माध्यमबाट अध्ययन गर्न इ–लाइब्ररीको पनि विकास भइरहेको छ । शिक्षण संस्थाहरूबाट औपचारिक शिक्षा पाउन सके तापनि समाज र देशको वस्तुस्थितिबारे पुस्तकालयहरूबाटै बुझ्न अध्ययन गर्ने थलोको रूपमा लिन सकिन्छ । पुस्तक पढ्ने बानी र पुस्तकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसूचित र सभ्य समाज निर्माण गर्न सहज हुनेमा दुईमत नहोला । अतः समाजका हरेक क्षेत्रमा राष्ट्रियस्तरीय, नगरस्तरीय, विश्वविद्यालय, कलेज÷विद्यालयस्तरीय मात्र नभई वडा÷ टोलहरूमा समेत पुस्तकालयहरू आज अपरिहार्य भइसकेको छ । तबमात्र अघि भनेझैँ हाम्रो समाज शिक्षित, सुसंस्कृत र सुसूचितका साथै सभ्य बन्न सक्दछ ।

यद्यपि, पुस्तकालय एउटा कोठा वा भवनमात्र नभई उक्त स्थान सिक्ने वातावरणसहितको हुनु अत्यन्त जरुरी छ । (म वास्तुकलाको विद्यार्थी भएको नाताले) पुस्तकालयमा प्रकाश÷हावाको आउजाउसहित त्यहाँ अध्ययनका लागि आउने बालबालिकादेखि वुद्धवृद्धा तथा अपाङ्गहरूसमेतको लागि मिल्ने फर्निचरसहितको वातावरण हुनु जरुरी छ । पुस्तकालय आफैमा एउटा प्रणाली भएकोले व्यवस्थित हुनुपर्दछ ।

मैले ख्वप ई. कलेजमा अध्यापनको क्रममा २÷३ वटा पुस्तकालयको विषयमा थेसिस सुपरभाइजर बन्ने अवसर पाएँ । वास्तुकला विज्ञानमा ५ वर्षको अन्तिम १० औँ सेमेस्टरमा थेसिस गर्नुपर्ने हुन्छ र यसमा पनि २०७५ सालमा एक जना विद्यार्थीले ‘भक्तपुरमा सफूकोठाको पुनर्विकास मा थेसिस शीर्षक लिएर आए र मलाई उक्त विषयको सुपरभिजन गर्ने जिम्मा दिइयो । यस नगरस्तरीय पुस्तकालय सफूकोठाको पुनःनिर्माण र पुर्नसञ्चालन हुनुपर्दछ । उक्त स्थानमा जग्गाको विषयमा जटिलता रहेको कारणले कुरा अघि बढ्न सकिरहेको छैन । उक्त स्थानका केही मुख्य भागहरू अधिग्रहण गरी ‘सफूकोठा’ पुनःस्थापना गर्न सकेमा भक्तपुर नगरपालिकाले आफ्नो ठाउँको गर्भिलो इतिहास र सफूकोठाप्रति न्याय दिलाउन सकिनेछ ।

भक्तपुर नगरपालिकाको प्रमुख उद्देश्य यस सांस्कृतिक नगरका सम्पदाहरूको जगेर्ना गर्न र इतिहासले प्रमाणित गरेका धरोहरहरू जस्तैः ङातापोल्हँ देगः÷भैरवनाथ÷ रानीपुखु÷भाजुपुखुलाई झैँ सफूकोठालाई पनि पुनः जन्म दिनु आजको आवश्यकता हो अनि हामीले अघि सारेको सांस्कृतिक नगर भक्तपुरलाई शिक्षित÷सुरक्षित÷सभ्य र सुसंस्कृत नगरको परिचय प्राप्त गर्न सकिन्छ । यसो गर्न सकेमा भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र गर्ने लक्ष्यमा पुग्न टेवा मिल्नेछ र गौरवको विषय बन्नेछ ।

(भक्तपुर नपाले मङ्गलबार आयोजित पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यक्त मन्तव्य–सं.)

Leave A Reply

Your email address will not be published.