Explore news and happenings at Bhaktapur

बाल विवाह अन्त्यका लागि समुदाय परिचालनबारे प्रवचन

२०७८ असार २६ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बाल विवाह अन्त्यका लागि समुदाय परिचालन विषयमा शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा भएको उक्त कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले शारीरिक र मानसिक रुपमा परिपक्व नभई विवाहले सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने बताउनुहुँदै कानुनतः २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिने बताउनुभयो ।
नयाँ पुस्ताका युवाहरुमा पढाइअनुसारको असल संस्कार सिकाउनुपर्नेमा जोड दिनुहुँदै विदेश जान गर्ने नक्कली विवाहले समाजमा दूरगामी असर गरेको बताउनुभयो । उहाँले बढ्दो नक्कली विवाहलाई समान्य घटनाको रुपमा लिन नहुने बताउनुहुँदै बाल विवाहलगायतका समस्याहरु अन्त्यको लागि समुदाय नै परिचालन हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले महिला स्वास्थ्य निकै नै जटिल विषय भएको हुँदा आफ्नो स्वास्थ्यबारे महिलाहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बाल विवाह तथा नक्कली विवाहले निम्तिने कानुनी समस्याबारे जनचेतना जगाउनुपर्ने आवश्यकताबोध गर्नुहुँदै भक्तपुर नपाले जनताको आवश्यकताअनुसारका योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का नर्स मुना लवजुले बालविवाहबारे आफ्नो प्रस्तुतीकरण दिनुभयो । उहाँले बालविवाहबाट बालबालिकाहरुमा पुग्ने असर र कारणहरुमाथि प्रष्ट पार्नुहुँदै बालविवाह धेरै हुने मुलुकमध्ये नेपालमा विश्वकै आठौं स्थानमा परेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडा सदस्यहरु रञ्जना त्वाती र हरिरत्न र्खालीले पनि बोल्नुभएको थियो भने सोही कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय समुदायहरुले हातबाट बनाइएका कपडाका सेनेटेडरी प्याड वडा सदस्य रन्जना त्वातीलाई हस्तान्तरण गर्नुभयो । ती सेनेटेरी प्याड कार्यक्रममा उपस्थित स्थानीय महिला दिदीबहिनीहरुलाई निःशुल्क रुपमा उपलब्ध गराइएको थियो ।

Leave A Reply

Your email address will not be published.