Explore news and happenings at Bhaktapur

१५ दिने मादल बजाउने प्रशिक्षण आजबाट सुरु

२०७८ असार २० गते, आइतबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार तथा बाल विकास केन्द्रका शिक्षिका तथा कर्मचारीहरुलाई १५ दिने मादल बजाउने प्रशिक्षण कार्यक्रम आजबाट सुरु भयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपालको प्रसिद्ध ताल बाजाको रुपमा परिचित मादलको सांस्कृतिक र राजनीतिक महत्व भएको बताउनुभयो ।

पुर्खाले छोडेका कला र संस्कृतिहरुलाई बचाइराख्न भक्तपुर नगरपालिकाले नयाँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न बाजाहरुको तालिम, प्रशिक्षण र प्रतियोगिताहरुलाई निरन्तरता दिइरहेको बतानउनुहुँदै प्रमुख प्रजापतिले शैक्षिक योग्यतासँगसँगै आफूमा अतिरिक्त सीपको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले एकचोटी सिकेको सीप कहिल्यै पनि नमर्ने बताउनुहुँदै राम्रा विद्यार्थी नै भविष्यमा असल शिक्षक हुने बताउनुभयो । आफूले सिकेको सीप समाजको निम्ति उपयोग गर्नुपर्नेमा जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित शिशुस्याहार केन्द्रको स्तरोन्नति गर्ने विषयमा आवश्यक छलफल चलाइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बाजा विज्ञानसँग जोडिएको बताउनुहुँदै मानिसहरुलाई मनोरञ्जन र एकीकृत बनाइराख्न बाजाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । शिशुस्याहार केन्द्रका बालबालिकाहरुलाई संगीततर्फ तान्न यस प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै उहाँले बालबालिकालाई चलायमान र ध्यानकेन्द्रित गर्न संगीतको भूमिका रहेको बताउनुभयो ।

बासुरी बाजा प्रशिक्षक राजकुमार मानन्धरले बाजा सिक्न प्रशिक्षार्थीमा सिक्ने भावनाको विकास हुनुपर्ने र बाजासँग जति नजिक भयो त्यति बढी सिकिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिशुस्याहार तथा बालविकास केन्द्रका संयोजक दिपेन्द्र प्रजापति र वडा नं. १ केन्द्रका इन्चार्ज नजरमाया बाटीले पनि बोल्नुभएको थियो ।

सोही क्रममा प्रशिक्षणको सुरुवातमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रशिक्षक राजकुमार मानन्धरलाई मादल हस्तान्तरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.