Explore news and happenings at Bhaktapur

भारतीय सरकारको शत्रुतापूर्ण व्यवहार नै अहिलेको समस्या – सांसद प्रेम सुवाल

कीर्तिपुर, २६ मंसिर ।

0

कीर्तिपुरको पांगामा बिहीबार भएको जनसाहित्य गोष्ठीमा लेखक–कविहरूले कवितामार्फत भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो नक्सामा गाभेको हस्तक्षेपकारी कदमको विरोध गरेका छन् । उनीहरूले कवितामार्फत कालापानीसँगै लिपुलेक र लिम्पियाधुरा नेपालको भएको र भारतको हस्तक्षेप कदापि सह्य हुन नसक्ने बताएका थिए ।

“भाषा, कला र संस्कृति जोगाऔँ, जनसाहित्यबाट जनचेतना फैलाऔँ’ भन्ने नाराका साथ विगत ६ वर्षदेखि योमरी पुन्हि (धान्यपूर्णिमा) को दिन हुँदै आएको जनसाहित्य गोष्ठीको छैटौं शृङ्खलाको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक जाखामाया महर्जनले गर्नुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली र भारतीय जनताको सम्बन्ध इतिहासजतिकै पुरानो भएको तर भारतीय सरकारहरूको नेपालप्रति शत्रुतापूर्ण व्यवहार नै अहिलेको समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा जारी गरेको नेपालीलाई स्वीकार्य छैन । नेपाल सरकारले भारत सरकारबाट भएको सीमा अतिक्रमणको विरोधमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिनु आवश्यक छ । नेपाल सरकारले भारत सरकारविरूद्ध मुद्दा नदिए पनि नेपाली जनताले भारतबाट नेपाली भूमि अतिक्रमणको विषय उठाउन छोड्नुहुँदैन । जनताको आन्दोलनले २०४६ सालमाजस्तै जनविरोधी सरकार अन्त्य हुने यथार्थलाई अस्वीकार गर्न मिल्दैन ।”

उहाँले टनकपुर सन्धि र महाकाली सन्धि गरेका नेका, एमाले महाकाली नदीको मुहान लिम्पियाधुरा छोडेको र कालापानीस्थित नक्कली मुहानलाई स्वीकार गरेको देशघाती काम भएको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सरकारमा गएका पार्टीका नेताहरूले भारतद्वारा भूमि अतिक्रमण गरी जारी गरएको नक्सा खारेज गराउन अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिने साहस नगरेको देशघात नै हो ।”

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा, कला र संस्कृति पहिचान भएकोले तिनको संरक्षण नभए पहिचान समाप्त हुने र पहिचान समाप्त भए अस्तित्व समाप्त हुने बताउनुभयो ।
सरकारले सङ्घीयताको मर्मविपरीत केन्द्रले स्थानीय तहलाई निर्देशित गर्न खोजेको चर्चा गर्दै उहाँले शिक्षक र कर्मचारीसमेत केन्द्रबाट नियुक्ति गर्नु सङ्घीयताको भावनाविपरीत भएको बताउनुभयो ।
सरकारले गुणस्तरीय निर्माण गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्नेमा उल्टो पुरस्कृत गरेर दण्डहीनताको अवस्था बनाएको बताउनुभयो ।

वरिष्ठ पत्रकार भैरव रिसालले लिम्पियाधुराको कुरा नगरी लिपुलेक र कालापानीको मात्र कुरा गर्दा नेपालले ठूलो क्षेत्रफल गुमाउने बताउनुभयो । २०३२ देखि लिम्पियाधुरा नभएको बुच्चे नेपालको नक्सामा प्रयोगमा आएको प्रसङ्ग चर्चा गर्दै उहाँले चुच्चे नक्साको सट्टा बुच्चे नक्सा प्रयोगमा ल्याउने सरकारी अधिकारीहरूलाई मरणोपरान्त भए पनि सजाय दिनुपर्ने बताउनुभयो ।
भारतले नेपाली भूमि आफ्नो नक्सामा गाभेको विषयमा सरकारले खुट्टा कमाएको पत्रकार रिसालको भनाइ थियो । “सरकार प्रमाण खोज्न डराइरहेको छ । प्रधानमन्त्री बिरामी हुनुहुन्छ । सरकार पनि बिरामी परेको छ । प्रधानमन्त्री बिरामी भए पनि सरकार त बिरामी हुन मिल्दैन”, उहाँले भन्नुभयो ।
नेपाल र भारतबीचको सिमाना समस्या समाधानको लागि भारत र बङ्गलादेशबीच भएको सिमाना समस्या समाधान तरिका अथवा नाइजेरिया र क्यामरूनबीच विकासन प्रायःद्विपको विवाद समाधानको तरिका अपनाउन सकिने पत्रकार रिसालको विचार थियो ।
उहाँले भन्नुभयो, “भारतीय सेना कालापानीमा जसरी सुरूक्क आएर बसेका थिए, अहिले खुरूक्क गए समस्या समाधान हुनेछ ।”
साहित्यकारहरूलाई यतिबेला गुलाबको फुलको कविताभन्दा देशको गुमेको भूमिबारे कविता लेख्न उहाँले आग्रह गर्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले शासक दलहरूको भारतीय विस्तारवादसामूको आत्मसमर्पणवादी चरित्रका कारण चुनावमार्फत नेपालको सरकार र संसदमा भारतीयहरूले प्रवेश पाइरहेको बताउनुभयो ।
आफ्नो शासन टिकाउन पञ्चायतले जे गरेको थियो, आज नेकपा र नेकाले त्यस्तै गतिविधिलाई निरन्तरता दिइरहेको चर्चा गर्दै उहाँले नेपाली जनताले पञ्चायत र आजको व्यवस्थाबीच तात्विक अन्तर महसुस नगरेको बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासक दल र सरकारको अकर्मण्यताकै कारण भारतले नेपालको सिमाना लगातार मिचेको बताउँदै देशभित्रका विभिषणहरूलाई नेपाली जनताले चिन्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले संरा अमेरिकी साम्राज्यवादकै आडमा भारतले दक्षिण एसियामा अशान्तिको बीउ रोपिरहेको चर्चा गर्दै भन्नुभयो, “आज संरा अमेरिका एकातिर चीनको विकास रोक्न लागेको छ भने अर्कोतिर एसियामा अशान्ति फैलाउने जालो बुनिरहेको छ ।”
गोसाईले चीनको हङकङ र सिन्जियाङ क्षेत्रमा उपद्रव फैलाएर चीनको विकासको बाटोमा अवरोध सिर्जना गर्न खोजेको बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का सांसद सृजना सैंजूले देश समस्यामा परेको बेलामा देशको विषयमा नलेख्ने र नसोच्ने लेखक, कवि र विद्वानहरूले नसोचे वास्तवमा कवि, लेखक र विद्वान नै नहुने बताउनुभयो ।
उहाँले मोदी फासीवाद दक्षिण एसियामाथि प्रभुत्व जमाउन उद्यत रहेको चर्चा गर्र्दै भारतीय विस्तारवादको सक्कली रूप जम्मु र काश्मिर हुँदै नेपालमा प्रवेश देखिएको बताउनुभयो ।

सिमाना अभियन्ता एवं लेखक रतन भण्डारीले लिम्पियाधुरामा नेपाल, चीन र भारतबीचको त्रिदेशीय बिन्दु घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले चीनले पनि नेपालको पश्चिम सिमाना लिम्पियाधुरा भएको स्वीकारिसकेको र कुटी, नाभी र गुञ्जीमा भारतको दाबी नेपालको सार्वभौमिकताविपरीत भएको प्रस्ट पार्नुभयो ।
भण्डारीले लिम्पियाधुरामा बा¥ह महिना सुरक्षाकर्मी तैनाथ गर्न नसक्ने सरकारले राजधानीमा शासक दलका नेताहरूको सुरक्षाको लागि ०–० जना सुरक्षाकर्मी तैनाथ गरेकोमा खेद व्यक्त गर्नुभयो ।

प्रा.डा.रामकृष्ण महर्जनले इतिहास लेखनमा साहित्यको भूमिका रहने चर्चा गर्दैै नयाँ पुस्तालाई पनि साहित्य लेखन र अध्ययनमा रूचि जगाउने गतिविधि गर्नुपर्ने बताउनुभयो ।
जनागाल सामुदायिक कलेजका प्राचार्य नन्दकुमारी महर्जनले नेपालभाषाको संरक्षणको लागि घर परिवारमै नयाँ पुस्तासँग नेपालभाषामै कुराकानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहित्य सम्मेलनमा वाचन भएका साहित्य लिपिबद्ध गर्न सके इतिहास बन्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, प्रा.डा. धर्मराज डंगोल, नाति पाक स्मृति कोषका अध्यक्ष विकास महर्जनलगायतले बोल्नुभएको थियो ।
जनसाहित्य गोष्ठीका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको गोष्ठीमा गोष्ठीका सचिव नारायण महर्जन, हरिकुमार महर्जनले पनि बोल्नुभएको थियो । गोष्ठीमा नाति पाक स्मृति पुरस्कार सुरेन्द्र महर्जनलाई प्रदान गरिएको थियो ।
साहित्य गोष्ठी पछि सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

 

Leave A Reply

Your email address will not be published.